काठमाडौँ,८ फागुन। माओवादीको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

सोमबार साँझ बसेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए । ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् ।

यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छ’ महराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’ उनले बैठकमा एउटा मात्र एजेण्डामा छलफल भएको बताए । अध्यक्ष दाहालले अहिलेसम्म दलहरुसँग भएका वार्ताको ब्रिफिङ गरेका थिए ।

यसअनुसार पदाधिकारी बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । उपाध्यक्ष महराले भने, ‘ गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो । यो कोसँग मिल्छ, हेर्दै जानुहोला ।’