सुर्खेत,९ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिपक्ष बिनाको लोकतन्त्र कल्पना गर्न नसकिने बताउनुभएको छ । नेकपा एमाले सुर्खेतले सोमबार आयोजना गरेको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव भट्टराईले बहुदलीय सिष्टममा सत्ता पक्ष र बलियो प्रतिपक्ष हुने बताउनुभयो ।
यदि एमाले विरुद्धको गठबन्धनले सरकार बनाएको भए एमाले बलियो प्रतिपक्षको रुपमा रहने उहाँले प्रष्ट पार्नुभयो । आज एमालेको गठबन्धनले सरकार बनाएकोले कांग्रेसलाई बलियो प्रतिपक्षी भएर बस्ने भट्टराईले सुझाव दिनुभयो । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई खुसीले प्रधानमन्त्रीमा विश्वासको मत दिएको उहाँले बताउनुभयो । ‘कि प्रचण्डसँग लेनदेन थियो कांग्रेसको ? लेनदेन थियो भने हामीलाई भन्नुपर्थ्यो प्रचण्डले’, उहाँले भन्नुभयो ।कांग्रेसँगको लेनदेन एमालेले नस्विकार्ने उहाँले प्रष्ट पार्नुभयो । ‘कांग्रेससँगको लेनदेन स्वीकार्य छैन नि त हामीलाई, किन भने यो देशका दुई वटा पोल हो, एउटा कांग्रेसको पोल, एउटा एमालेको पोल, यी बिचका अरू पोलहरू बेला बेलामा आउँछन्, बेला बेलामा जान्छन्, यी जान्छन् नै’, भट्टराईले भन्नुभयो ।
नेपालमा प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस र एमाले नै भएको उहाँले बताउनुभयो । नेपालमा संविधान, व्यवस्था सबै भएको, केवल संसदमा दुवै पार्टीको बहुमत नभएको उहाँले प्रष्ट पार्नुभयो । संसद्मा कसैले सरकार बनाउने बहुमत पुर्याउन सकेन भने कुन बाटो जाने भन्ने कुरा पनि संविधानले प्रष्ट पारेका बताउँदै उहाँले सोही बाटोमा अघि बढ्न सकिने बताउनुभयो ।
‘राजनीतिक अस्थिरताले शासकीय स्थिरता नभएको मात्रै हो, राजनीतिक अस्थिरता छैन मुलुकमा, टुङ्गो लगाइसकिएको छ संविधान बनाएर’, उहाँले भन्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अब एक सय वर्ष जाने उहाँले बताउनुभयो । त्यसैले राजनीतिक अस्थिरताको कुरा गरेर कसैलाई अत्याउने र तर्साउने प्रयास नगरे हुने उहाँले प्रष्ट पार्नुभयो ।
भट्टराईले कांग्रेसलाई अगाडि सारेर एमालेसँग बार्गेनिङ नगर्न माओवादीलाई आग्रह गर्नुभयो । माअोवादीलाई कांग्रेससँगको ढोका बन्द भएपछि एमालेसँग मिल्न आएको कुरा नबिर्सन भट्टराईले आग्रह गर्नुभयो ।
माओवादीले एमालेसँग गरेको सहमति कायम छैन भनेर प्रचण्डले मुखले नभनेको भए पनि व्यवहारले भने त्यस्तो देखाएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रचण्डलाई धेरै चलाख नहुन उहाँले सुझाव दिनुभयो । ‘बाठो लड्छ दश बल्ड्याङ, धेर बाठो नहुनुस्’, भट्टराईले भन्नुभयो ।
न एमालेतिर न कांग्रेस तिर भएर चुनाव लड्दा माअोवादी कहाँनेर हुन्छ भन्ने कुरा सोच्न उहाँले प्रचण्डलाई आग्रह गर्नुभयो । त्यसैले एमालेले दिएको समर्थनलाई कमजोरीको रुपमा नठान्न पनि उहाँले सुझाव दिनुभयो । प्रचण्डलाई गरेको समर्थन एमालेले संविधानलाई असफल हुन नदिन गरेको उपाय भएको उहाँले प्रष्ट पार्नुभयो ।
माओवादीले एमालेसँग छोडपत्र गर्न चाहेको भए छाडेर जान सक्ने उहाँले प्रष्ट शब्दमा बताउनुभयो । माओवादीसँग छोड पत्र गर्न एमाले अदालत जानु नपर्ने उहाँले प्रष्ट पार्नुभयो । सरकारमा नहुँदैमा एमालेको नसा नसुक्ने उहाँले बताउनुभयो ।
एमालेले प्रचण्डलाई नत्थी लगाएर नल्याएको उहाँले बताउनुभयो । प्रचण्ड हाँसी खुसी हात हल्लाउँदै एमालेसँग मिल्न आएको उहाँले प्रष्ट पार्नुभयो । एमालेले मिलेरै जाऊँ भनेको भए पनि माअोवादीको इच्छा छैन भने ढोका खुल्ला भएको भट्टराईले बताउनुभयो ।




















