काठमाडौँ,९ फागुन । पुस २०७९ मा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि कांग्रेस सत्तामा फर्किने रणनीतिमा छ । त्यही रणनीतिको पहिलो प्रयास थियो, २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिनु । १० पुसमा गठबन्धन भत्काएर प्रचण्ड एमालेसँग मिल्न मात्र गएनन्, प्रधानमन्त्री आफैँ भए ।
गठबन्धनमा धोका दिए पनि प्रचण्डलाई गाली नगरेर कांग्रेसले संयमता अपनाउँदै एमाले-माओवादी गठबन्धन भत्काउने रणनीति लिएकाे छ । यसैको उच्चतम रूपचाहिँ अहिले कांग्रेसबाट राष्ट्रपति बनाउन प्रचण्डनजिक देखिएको बताइन्छ । प्रचण्डले कांग्रेसलाई वचन दिइसकेको भनिएको छ । तर, नेताहरूले औपचारिक पुष्टि भनेका गरेका छैनन् । प्रचण्डले राष्ट्रिय सहमतिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गर्न सक्ने चर्चासमेत चलिरहेकाे छ । तर, कांग्रेसभित्रै चाहिँ देउवालाई राष्ट्रपति बनाउने कि नबनाउने भन्ने विवाद छ ।
सभापति देउवा गुट भने अहिले नै राष्ट्रपति बनाउन नहुने पक्षमा छ । देउवा राष्ट्रपति हुनेबित्तिकै कांग्रेसभित्र उनको गुट कमजोर हुने सम्भावना छ । सोही कारण देउवाइतर समूहका नेताहरू पनि देउवालाई राष्ट्रपतिमा पठाउन चाहन्छन् । यद्यपि, देउवाले पनि आफूनिकटलाई साढे २ वर्ष प्रधानमन्त्रीपछि राष्ट्रपति हुने चाहना रहेको बताउने गरेका छन् । त्यस कारण गुट व्यवस्थापन गर्न समस्या हुने भएकाले यो गुटका नेताहरू एकमत देखिएका छैनन् । तर, प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री दिने हो भने देउवा राष्ट्रपति हुन सक्ने पनि बताइन्छ ।
महामन्त्री विश्वप्रकाश शर्माले सुर्खेतबाट पार्टी सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरे । र, उनले कांग्रेसबाटै अबकाे राष्ट्रपति हुने दाबी गरे । महामन्त्री शर्माले भने, ‘सभापति शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौँ ।’ उनले राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।
राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्माको नाम चर्चामा छ । यद्यपि, नेता पौडेल राष्ट्रपति हुनेमा ढुक्क देखिएका छन् । तर, सभापतिको सम्भावनालाई पनि नकार्न नसकिने नेताहरू बताउँछन् । ‘राष्ट्रपति दिए भने पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार छौँ भनेर प्रवक्ताले भन्नुभएको छ । देउवा पाँच वर्षभित्र प्रधानमन्त्री हुन पाएनन् भने फोकटमा हल्लिएर किन बस्छन् ?’ एक कांग्रेस नेताले शिलापत्रसँग भने । प्रकाशरण महत, ज्ञानेन्द्र कार्की, आरजु राणाहरूले देउवा गुटमा पावर रिजर्भ गर्न खोजेको ती नेताले बताए । देउवाले टाउको हल्लाए पुग्ने अवस्था रहेको ती नेताले बताए ।
राष्ट्रपति बन्न अफर गरेका बाह्य शक्तिलाई समेत देउवाले पार्टी देखाएर आफू तयार नरहेको जवाफ दिएका छन् । त्यसको पछाडि गुटका नेताहरूको प्रयास रहेको पनि कांग्रेसभित्र चर्चा भइरहेको छ । ‘रामचन्द्र पौडेल सभापतिमा प्रयास गरिसक्नुभएको वरिष्ठ नेता हुनुहुन्छ । भोलि उहाँलाई नै राष्ट्रपति बनाउनुपर्ने हुन सक्छ । शेखरजीलाई दिन सबैले स्वीकार गर्दैनन् । नयाँ पुस्ताका नेताहरू पार्टी सभापतिको लागि तयार भइसकेका छैनन्,’ ती नेताले भने, ‘देउवा राष्ट्रपति बन्दा राम्रो हुने अवस्था हुँदाहुँदै पनि वरिपरिका मान्छेले बन्न दिइरहेका छैनन् ।’
देउवा राष्ट्रपति बन्नेबित्तिकै पार्टी नयाँ दिशामा जान सक्छ । कार्यवाहक सभापतिमा उपसभापति खड्का र संसदीय दलमा नयाँ नेता आउने र पार्टीमा परिवर्तन सन्देश प्रवाह हुने हुन्छ ।
१३ फागुनमा राष्ट्रपति चुनावको मनोनय दर्ता गर्नुपर्ने तालिका छ । तर, दलहरूले राष्ट्रपतिको उम्मेदवार तय गर्न सकेका छैनन् । संसदको ठूलो दल कांग्रेस सत्ता हातबाट फुत्किए पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन चाहन्छ ।
कांग्रेस नेताहरू कुनै पनि हालतमा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारले जित्ने दाबी गर्छन् । त्यसका लागि पार्टीको मूल रणनीतिमा परिवर्तन गरिएको छ । चुनावपछि सभापति शेरबहादुर देउवा किचन क्याबिनेट र सीमित नेताहरूको भर पर्दा विपक्षी मोर्चामा पुग्नु परेकाले अहिले सामूहिक डिल गर्न खोजिरहेका छन् ।
आइतबार देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापासहित बालुवाटार पुगे । ‘पहिले वान टू वान कुरा गर्दा माहौल बिग्रियो । अहिले सामूहिक रूपमा कुरा गर्न सभापतिको रुचि देखिन्छ । यसले गर्दा पार्टीभित्र विवाद पनि कम हुने र कुराकानी पारदर्शी हुने देखियो,’ कांग्रेसका एक सांसदले शिलापत्रसँग भने ।
कांग्रेस उपसभापति धनराज गुरुङ राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सर्वसम्मत बनाउन आग्रह गर्छन् । ‘शक्ति सन्तुलनको हिसाबले, सबै दलको अपनत्व हुने गरी अघि बढौँ । आर्थिक रूपमा समस्यामा मुलुक फसेको छ योबाट मुक्त हुन सत्तापक्ष प्रतिपक्ष भनेर जिद्दी गर्नु हुँदैन,’ शिलापत्रसँग उनले भने ।
पौडेल र सिटौला अन्तिम लडाइँमा
राष्ट्रपतिको उम्मेदवारका लागि कांग्रेसभित्र पौडेल र सिटौलाको नाम निकै अघिदेखि चर्चामा छ । देउवाको विकल्पमा उनीहरूमध्ये एक जना उम्मेदवार हुने सम्भावना छ । सभापति देउवाले पहिलेदेखि पौडेलको नाम लिइरहेका छन् । ‘नाम टुंगिएको छैन । आन्तरिक बैठकमा रामचन्द्र दाइको नाम लिनुभएको हो । आफ्नोबारेमा केही भन्नुभएको छैन,’ सहमहामन्त्री बद्री पाण्डेले शिलापत्रसँग भने ।
समकालीन राजनीतिमा पार्टीभित्र र बाहिर सर्वस्वीकार्य नेता रामचन्द्र पौडेल भएको केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । ‘नाम आएका नेताहरूमध्ये राष्ट्रपतिको लागि रामचन्द्र पौडेलको उपयुक्त हुनुहुन्छ । समकालीन नेपाली राजनीतिको वरिष्ठ नेता हो । लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माण र गणतन्त्रसम्म उहाँको अब्बल वैचारिक भूमिका छ,’ आचार्यले शिलापत्रसँग भने, ‘संविधानको मर्मलाई गहिरोसँग बुझेको नेता हुनुहुन्छ । उहाँ पार्टीभित्र र बाहिर सर्व स्वीकार्य व्यक्ति हुनुहुन्छ ।’
अर्का नेता सिटौला शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न व्यक्ति हुन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँदे सम्झौता हस्ताक्षर गराउने वातावरण निर्माण गर्ने काममा उनले भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रपतिको चुनाव अवसरको रूपमा आएको कांग्रेस प्रदेश १ का सभापति तथा प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता उद्धव थापा बताउँछन् । ‘हाम्रो मतले मात्र कांग्रेबाट राष्ट्रपति बन्न सक्दैन,’ उनले शिलापत्रसँग भने, ‘कृष्ण सिटौलालाई अन्य दलले स्वीकार गर्ने अवस्था छ । यसमा कांग्रेसले हिम्मत गर्नुपर्छ । शान्ति प्रक्रियामा खेलेको भूमिका, अन्य दलले सहज रूपमा लिएको व्यक्ति कृष्ण सिटौला हुन् । त्यसो हुँदा मुलुकभर कांग्रेसको राजनीति माथि उठ्न सक्छ ।’
हरायो गैरदलीय कुरा
सरकारबाट बाहिर बसेपछि राष्ट्रपतिको चुनावी अंकगणित नपुग्ने बुझेको कांग्रेसले राजनीतिक व्यक्ति राष्ट्रपति बनाउन नसक्ने अवस्था आएमा गैरराजनीति व्यक्ति राष्ट्रपति बनाउन छलफल गरेको थियो । त्यतिबेला खिलराज रेग्मी, कल्याण श्रेष्ठ, दमननाथ ढुंगानालगायतको नाम चर्चामा आएको थियो ।
तर, यस विषयमा पार्टीमा औपचारिक छलफल भएको छैन । ‘पार्टीभित्र गैरदलीय कुरा स्थापित भएको छैन । बाहिर चर्चा छ । आवश्यकता रह्यो भने त्यो पनि होला,’ सांसद राजेन्द्र बजगाईंले शिलापत्रसँग भने । नेताहरू पौडेल र सिटौलाको नाम पार्टी बैठकमा आएको उनले बताए ।
वर्तमान सरकारमार्फत शान्ति सम्झौताका हस्ताक्षरकर्ता र त्यसको स्प्रिटलाई बोक्नेको बृहत् राष्ट्रिय सहमति हुनुपर्छ भनेको प्रधानमन्त्रीको भनाइमा कांग्रेको समर्थन रहेको उनले बताए ।
माधव नेपाललाई नमान्ने, एमालेको प्रस्ताव पनि नमान्ने
एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीतिमा छन् । एमाले अध्यक्ष ओलीनिकट स्रोतका अनुसार अघिल्लो हप्ता नै ओलीले अनौपचारिक प्रस्ताव नेपाललाई राखिसकेका छन् ।
ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच बाक्लो संवाद भएको हो । स्रोतका अनुसार नेपालले प्रचण्डलाई एमालेले समर्थन गर्ने भएकोले ‘तपाईंले पनि समर्थन गर्नुहोस्’ भन्ने आशय व्यक्त गरेका छन् ।
त्यसैले प्रचण्डले पनि राष्ट्रपतिका लागि माधव नेपालको नाम ओलीले प्रस्ताव गरे के गर्ने भनेर कांग्रेस नेताहरूलाई सोधेको प्रसंग आएको बताइन्छ । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्नेछ ।
‘कांग्रेसले एमालेको प्रस्तावित उम्मेदवारलाई स्वीकार गर्दैन । छलफलमा आधिकारिक रूपमा आएको छैन । माधव नेपालको इच्छाबमोजिम आएको हो कि होइन ?’ सहमहामन्त्री परियारले भने, ‘ओलीजीले प्रस्ताव गर्नुभयो भन्ने कुरा छ । यो कुरा कतिको सत्य हो त्यसमा भर पर्छ । सो कुरामा माधव नेपाल कतिको सकरात्मक हुनुहुन्छ ? उहाँले स्वीकार गर्नुभएन भने त्यसको अर्थ केही रहँदैन ।’
माधव नेपालको नाम प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेको नेता बजगाईंले बताए । ‘माओवादी केन्द्रले पार्टीको नाम चुनाव चिह्न नै परिवर्तन गर्ने निर्णय लिइसकेको छ । कुनै सोसलिस्ट नाम र सोसलिस्ट प्रतीक छान्दैगर्दा पार्टीको पुनर्तार्जकी गर्न सक्छ,’ उनले भने, ‘माधवजीलाई ओलीजीले एकता र राष्ट्रपतिको प्रस्ताव गर्नु माओवादीमाथि दबाब सिर्जना गर्नु हो । के ओलीजी राष्ट्रपति नपाउने अवस्थामा पनि लार्जेस्ट पार्टी बनाएर माधवजीलाई प्रधानमन्त्री र एमाले अध्यक्ष पद दिन राजी छन् त ?’
सरकारबारे भएन औपचारिक छलफल
पार्टी सम्पूर्ण रूपले राष्ट्रपति चुनावमा केन्द्रित भएको नेताहरू बताउँछन् । ‘सरकारमा जाने भन्ने हाम्रो छलफल भएको छैन । बाहिर यो कारणले प्रचण्डलाई अप्ठेरो पर्दैन हामी त्यो कुरामा प्रस्ट पार्न चाहन्छौँ,’ उपसभापति गुरुङले भने ।
पाण्डे पनि सरकार गठनको विषय अहिले प्राथकितामा नरहेको बताउँछन् । ‘सुदूरपश्चिम सरकारलाई विश्वसको मत दिलाउने र राष्ट्रपति चुनावमा पार्टीको ध्यान छ, सरकारको बारेमा केही सोचेको छैन,’ सहमहामन्त्री पाण्डेले भने, ‘राष्ट्रपति हाम्रो भयो भने एमालेले के गर्छ त्यपछि घटनाक्रम विकास हुन्छ ।’
सरकारलाई आवश्यक नभएको विश्वासको मत दिएपछि सरकारको नेतृत्वमा दाबी गर्न नैतिक रूपमा नमिल्ने सांसद बजगाईं बताउँछन् । ‘आवश्यक नपरेको मत दिएपछि सरकारमा दाबी गर्न नैतिक रूपमा मिल्दैन । शक्ति सन्तुलनको हिसाबले प्रधानमन्त्रीले सोच्ने अथवा कांग्रेसभित्रको एक्सपर्टिजले मन्त्रिपरिषद् चलाउने कुरा सोच्न सकिन्छ । सँगै काम गरौँ भनेर सत्ता बाँटफाँट हुन सक्छ, त्यो प्रधानमन्त्रीको हातमा रह्यो,’ उनले शिलापत्रसँग भने ।
गैरकम्युनिस्ट सरकारको कसरत
गैरकम्युनिस्ट सरकार बनाउन कांग्रेसले राप्रपा र रास्वपासँग छलफल गरेको छ । राप्रपासँग छलफल गर्न अप्ठेरो भए पनि रास्वपासँग खुला रूपमा छलफल भैरहेको स्रोतले जानकारी दियो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति चुनावअघि मुख नखोल्ने बताएका छन् । ‘अध्यक्षज्यूले राष्ट्रपति चुनावअघि कुनै जवाफ दिन्न भन्नुभएको छ,’ राप्रपाका एक नेताले शिलापत्रसँग भने ।
रास्वपा सभापति लामिछानेले भने सकारात्मक जवाफ दिएका छन् । ‘अहिले यो गठबन्धमा छु, त्यस कारण धेरै कुरा बोल्न मिल्दैन तर म सकारात्मक छु,’ लामिछानेले दिएको जवाफबारे रास्वपाका एक नेताले शिलापत्रसँग भने ।
तर, कांग्रेस नेताहरू भने यसबारेमा कुराकानी नभएको बताउँछन् । ‘हिजो पाँचदलीय गठबन्धन हुँदा कम्युनिस्ट गैरकम्युनिस्ट भन्ने थिएन । त्यहाँ माओवादी र एकीकृत समाजवादी पनि थियो । अब ब्युँतियो भने पुरानो गठबन्धन ब्युँतिन सक्छ,’ कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘त्यसैले कुनै पनि सरकार कम्युनिस्ट र गैरकम्युनिस्ट भन्ने हुँदैन । यो विषयमा पार्टीमा कुरा भएको छैन ।’
दिपेन्द्र अधिकारीले लेख्नु भएको यो समाचार शिलापत्र बाट साभार गरिएको हो ।




















