काठमाडौं,१० फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नेकपा एमालेसँग तत्काल एकता सम्भव नरहेको बताएका छन्। सम्मानित नेता झलनाथ खनालले पार्टी समाहित गरेर कुनै पद नलिने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गरे सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको सार्वजनिक भएको थियो। तर, खनालले त्यो सम्भव नरहेको स्पष्ट पारे।

‘अहिले कसैसँग मिल्ने सम्भावना शून्य प्रतिशत पनि छैन,’ खनालले ने, ‘स्वतन्त्र सार्वभौम हाम्रो दल समाजवादी क्रान्ति रुपान्तरणको दिशामा अघि बढेको छ, कोहीसँग मिल्दैन।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान गरेको प्रस्तावबारे पार्टीलाई जानकारी नभएको उनले बताए। ‘कहाँ, कोसँग, केका लागि भेट भएको हो? पदका लागि पार्टीलाई बेचबिखन गर्ने?’ खनालले प्रश्न गरे।

राष्ट्रपति चुनावको परिदृश्य अझै प्रष्ट नभएको उनको भनाइ छ। ‘एमाले र माओवादीको क्यारेक्टरले मुलुक समस्यामा पर्ने भयो,’ खनालले थपे। अध्यक्ष नेपालले आफूले पार्टी एकताबारे केही नसोचेको बताए।

आइतबार (६ फागुन) एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादी अध्यक्ष नेपालबीच वार्ता भएको थियो। त्यसबेला ओलीले पार्टी समाहित गर्न तयार भए राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।