काठमाडौं,१२ फागुन  । राष्ट्रपतिको उम्मेदवार चयन गर्न बसेको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुटाउनु भएको बहुमतको आधारमा प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको बैठकमा कांग्रेसले कम्युनिष्टलाई राष्ट्रपति मान्न नसकिने अडान राखेपछि बैठक बिनानिश्कर्ष टुंगिएको हो ।

माओवादीसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बिहीवार बसेको बैठकले पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । आजको बैठकमा कांग्रेसले राष्ट्रपति कांग्रेसकै चाहिने अडान राखेपछि बैठक बिना निश्कर्ष टुंगिएको हो ।

करिब साढे ३ घण्टा लामो बालुवाटार बैठकआ–आफ्नै अडानका कारण बिनानिश्कर्ष सकिएको छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैले राख्ने र अन्य दल मन्त्रीको भागमा चित्त बुझाउनु पर्ने बताएपछि प्रधानमन्त्री बन्नकै लागि माओवादी अध्यक्ष दाहालले पुस १० गते भंग गर्नुभएको गठबन्धन पुनःब्यूँताउन अहिले दैनिकजसो बार्ता भइरहेको छ ।

नेकपा एमालेसँग राष्ट्रपतिको सहमति गर्नुभएका प्रधानमन्त्री दाहालले बिश्वासको मत पाएपछि सहमति तोडेर कांग्रेसतिर ढल्कनु भएको छ । सहभागी एक नेताका अनुसार तीन दलले एमालेको समेत सहमति रहने भनिएको माधवलाई राष्ट्रपति बनाउने निर्णयबाट प्रधानमन्त्री दाहाल आजै ब्याक भएको अनुभुति भएको छ ।

आजको बैठकमा कांग्रेसले आफ्नै राष्ट्रपतिबाहेक अरुलाई स्वीकार नगर्ने भन्दै प्रचण्ड र माधवकै अगाडि कम्युनिष्ट राष्ट्रपति नमान्ने हिन्दुस्तानको कुरा सुनाएपछि प्रधानमन्त्री गल्नुभएको हो । कांग्रेसको यो धम्कीसामू प्रचण्डले आफू कम्युनिष्ट पार्टीको अध्यक्ष रहेको तथ्यसमेत भुल्नुभएको छ ।

बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले राखेको र अन्य दलहरुबाट आएका प्रस्तावमा छलफल भइरहेको बताउनु भयो । ’राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले माओवादी समाजवादी र जसपासँग पनि छलफल गरिरहेको छ । अन्य दलहरु पनि छलफलमा छन, अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर छलफल गर्यौं । विभिन्न विकल्पमा छलफल भएको छ । फेरि ५ बजे बस्ने छौँ,’ थापाले भन्नुभयो ।

आजको बैठकमा कांग्रेसको हिन्दुस्तान कार्डका कारण प्रधानमन्त्री दाहाल तर्सिनुभएको बताइएको छ । सोही कारण उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति नबन्न ‘कन्भिन्स’ गर्न लाग्नुभएको छ । एमालेले समेत मान्य बताएपछि माधव राष्ट्रपति हुने प्रष्ट भएपछि प्रचण्ड आफ्नै अडानबाट पछि हटनुभएको हो ।

दाहालले यही कार्यकालमा एक वर्षका लागि सरकारको नेतृत्व दिएर राष्ट्रपतिमा नेपाली कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सघाउने वातावरण निर्माण गर्न माधवसँग् प्रस्ताव गर्नुभएको हो । अध्यक्ष नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा अघि सार्ने प्रस्ताव गर्नुभएको थियो ।

भर्खरै नेपाल भ्रमणका आएका छिमेकी मुलुक भारतका बिदेश सचिव बिनयमोहन क्वात्राले प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसकै राष्ट्रपति आफूहरुका लागि कम्फर्टेवल हुने बताएका थिए ।