काठमाडौं,१२  फागुन । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोकाधडीको राजनीतिमा उत्रिएको टिप्पणी गरेको छ । आज बालुवाटारमा बसेको आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको विजारोपण गरेको एमालेले बताएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बालुवाटार बैठकको निर्णयसँगै सत्ता गठवन्धनको भविष्य संकटमा परेको बताउनु भयो । गठवन्धनको सबैभन्दा बढी लाभ लिनुभएका प्रधानमन्त्री प्रचण्डले नै गठवन्धनका सहयात्री दललाई धोका दिएर आफ्नै भविश्य अनिश्चिततातर्फ धकेलेको उहाँको भनाई छ ।

‘प्रधानमन्त्रीले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाउनुभयो । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ ज्ञवालीले भन्नुभयो । अहिलेको राजनीतिक चक्रब्यूहको नेपाली राजनीतिमा दुरगामी असर पर्ने पनिउहाँले बताउनु भयो ।

विकसित घटनाक्रमबारे निर्णय लिन एमालेले शनिवार सचिवालय बैठक बोलाएको छ । सो बैठकपछि एमालेले आफ्नो धारणा बाहिर ल्याउने ज्ञवालीको भनाई छ ।

प्रधानमन्त्री दाहालले आज सत्ता गठबन्धन छाडेर कांग्रेस नेतृत्वको गठबन्धनमा जाने निर्णय लिनुभएको छ । भारतले नेपालको राष्ट्रपति कम्युनिष्ट हुन नहुने बटमलाइन सुनाएपछि प्रधानमन्त्री दाहाल आफू कम्युनिष्ट पार्टीकै अध्यक्ष रहेको तथ्य भुलेर सो मिसन पूरा गर्न एमाले नेतृत्वको सत्ता गठबन्धन छाडनु भएको हो ।