काठमाडौँ,१४ फागुन ।  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो २५ गतेसम्म सर्वसम्मतिको राष्ट्रपति बनाउने योजनामा आफू रहेको बताएका छन् । तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रम एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन आइतबार बारपाक सुलिकोट आएका प्रचण्डले सर्वसम्मतिमा राष्ट्रपति बनाउने योजना सुनाएका हुन् ।

‘मैले निर्वाचन लड्दै गर्दा जुनजुन राजनीतिक दल मिलेर भोट मागेका थियौं,गर्दै जाँदा परिस्थिति नयाँ बन्यो र म प्रधानमन्त्री भिन्न तरिकाले भएँ’,उनले भने, ‘हिजोमात्रै फेरि राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठदल एकठाउँमा भएका छौँ । नेकपा एमालेसँग पनि लगातार हाम्रो वार्ता र संवाद भइरहेको छ । हाम्रो कोशिस छ कि, २५ गतेसम्म जाँदा राष्ट्रपति सर्वसम्मत भयो भने धेरै राम्रो हुनेछ । त्यो कोशिस पनि हामी गरिरहेका छौँ ।’

सर्वसम्मतिको राष्ट्रपति नभए पनि स्थायित्व र विकासका लागि अझै सहयोगी र विश्वासको वातावरण बन्ने उनले बताए।

उनले आफ्नो बाँकी जीवन मुलुकको विकास र संवृद्धिका लागि बिताउने बताए । ‘सहिद र वेपत्ताहरूको स्मरण गर्दैगर्दा,म यो प्रतिवद्धता व्यक्त गर्दछु कि, मेरो बाँकी जीवन देशको विकास र संवृद्धिका लागि विताउने छु’,उनले भने,‘मेरो ध्यान ठूला परियोजनातिर छ । जसले गर्दा आउँदा पिढीले पनि यो परियोजना यो बेलामा सुरु भएको थियो भनेर सम्झनेछन् ।’

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित विधेयक पारित भएपछि सहिद तथा बेपत्ता,घाइतेहरूलाई परिपुरण दिन,बालबच्चाको भरण पोषण,स्वास्थ्य उपचारको व्यवस्थाले केही मलमपट्टी लाग्ने उनले विश्वास व्यक्त गरे।