विराटनगर,१५ फागुन  । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाए पनि नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएको छ ।

माओवादी केन्द्र  प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले माथि जे जस्तो परिस्थिति निर्माण भएपनि प्रदेश १ मा सत्ता समीकरणको फेरबदल बारे अहिले नै नसोचेको बताए । आङ्बाे हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन रही रहने बताए ।

उनले भने,‘यो सरकारकाले नै निरन्तरता पाउँछ । अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन हुँदैन । माओवादी केन्द्रले प्रदेश १ को सरकार परिवर्तनका बारेमा थप सोचेको छैन ।

प्रदेश १ मा माओवादी केन्द्र , जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ । ९३ सिट रहेको प्रदेश सभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सिट सहितको समर्थनमा एमाले नेतृत्वको सरकार बनेको छ । सरकारमा माओवादी केन्द्रका २, राप्रपाका १ र जसपाका १ जना मन्त्री छन् ।