विराटनगर,१७ फागुन । प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्ने प्रस्ताव निर्णय पार्टीको आधिकारिक नभएको एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले लिम्बुवान किराँत सगरमाथा प्रस्ताव दर्ता गराएका छन् ।

जसपाका निर्मला लिम्बू समर्थक रहेको प्रस्ताव समाजवादीको आधिकारिक नभएको एक पोलिटब्यूरो सदस्यले बताए । समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले शीर्ष नेताहरुको असहमति हुँदाहुँदै पनि प्रस्ताव दर्ता गराएको ति नेताले बताए । समाजवादीका अध्यक्ष माधव नेपालले १ वर्ष अघि धरानमा भएको कार्यक्रममा प्रदेश १ को नाम कोशी रहनुपर्ने बताएका थिए ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश नं १ को प्रदेशसभामा नामकरणको विषय कार्यसूचीभित्र रही छलफल हुने भएकोले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीज्यूको निवास वरवर नामको टुङ्गो नलागेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

नामकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्थाबाट संभावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।