गौरादह,२४ फागुन । मिसन ग्रासरुट अभियान २०७९ अन्तगर्त नेकपा (एमाले) गौरादह नगर कमिटी अब टोल–टोल पुग्ने कार्ययोजनाका साथ अघि बढ्ने भएको छ । आज ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आयोजित बैठकले यस्तो निर्णय गरेको हो ।
नगरमा उपलब्ध पार्टी केन्द्र, केन्द्रीय आयोग, परिषद्, विभाग सदस्य, कोशी प्रदेश कमिटी, जिल्ला कमिटी, नगरपालिका कमिटी र कमिटी मातहतका विभाग र परिषद् सदस्य सहितको बिस्तारित बैठकले एकस्वरमा टोल–टोल पुग्ने टुंगो लगाएको कमिटीका अध्यक्ष मित्रदेव काफ्लेले बताउनुभयो । पार्टी स्थायी कमिटी एवम् पूर्वमन्त्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न यो बैठकले नगरपालिका आधारित स्थानीय बासिन्दा र मतदाताको समेत अभिलेख निकाल्ने योजना बनाएको अध्यक्ष काफ्लेले थप्नुभयो ।
अभियानका केन्द्रीय अभियन्ता युवराज बास्कोटाले अभियानप्रति आमरूपमा सबैलाई अभिमुख गर्दै पार्टीलाई मतदाता तहका नागरिकको घरदैलोमा उभ्याउने र प्रत्येक घरदैलोबाट प्राप्त रायसुझावका आधारमा समृद्ध तुल्याउने अभिष्टता रहेको प्रस्ट पार्नुहुँदै नेपाली राजनीतिमा नेकपा (एमाले) को सर्वश्रेष्ठता कायम गर्न नेता कार्यकर्ताले नियमित पठनको संस्कृति अवलम्बन र विकास गर्नुपर्ने, कार्यकर्ताको व्यक्तिगत जीवनमा समेत अरुमाझ आकर्षित आचरण, इमान र निष्ठाले भरिपूर्ण हुनुपर्ने बताउनुभयो । एमाले हुनुमा अत्यन्तै ठूलो गौरव र गर्वबोध हुने पहिलो पुस्ताको समुन्नत जीवनशैलीको प्रशंसा गर्दै उहाँले आफूहरू सत्ताका लागि मात्र नभएर पक्ष वा प्रतिपक्ष जस्तोसुकै बेलामा पनि समाजको आधारभूत समुदाय र तिनका मुद्दाबाट टाढा र अलगथलग हुन नसक्ने बताउनुभयो ।
सम्पन्न बिस्तारित बैठकलाई केन्द्रीय अनुशासन आयोग सदस्य लीला कट्टेल कार्की र कोशी प्रदेश कमिटी सदस्य हिरा थापाले सम्बोधन गर्नुभएको थियो भने उठेका कतिपय जिज्ञासामा आधारित रहँदै प्रमुख अतिथि नेता खरेलले अभियान र योसँग जोडिएको राजनीतिक कोर्सका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकले सम्पन्न बैठकलाई अभिमुखीकरणस्वरुप पहिलो कार्यक्रम मान्दै मसान्तसम्म नगरपालिका क्षेत्रभित्र क्रियाशील ९ वटा जनसंगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुपर्ने, यसबीचमा वडा–वडामा बृहत बैठक आयोजना गर्नुपर्ने, चैत्र ७ गतेसम्म टोल भेला र कमिटी गठन पुनर्गठन गर्नुपर्ने, चैत्र १५ गतेसम्म सदस्यता नवीकरणको गरिसक्नुपर्ने, चैत्र १७ गतेसम्म जनप्रतिनिधिसँग स्थानीय पार्टी नेतृत्व कार्यक्रम आयोजना गर्नुपर्ने, चैत्र १९ गते एमाले संसदीय दलको बैठक बस्नुपर्ने, चैत्र २६ गते बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्नुपर्ने र चैत्र मसान्तसम्म वडा र पालिका प्रतिनिधि परिषदको भेला आयोजना गरिसक्नुपर्ने कार्ययोजना बनाएको बैठकलगत्तै जारी सर्कुलर पत्रमा उल्लेख गरिएको छ ।




















