काठमाडौं,२७ फागुन । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक शुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु भएको हाे । यसअघि गठबन्धनमा ९ दल सहभागी भएको थियो ।

यसपटकको बैठकमा भने प्रभु शाह पनि बालुवाटारको बैठकमा पुगेका छन् । शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।

देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए ।

संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ ।

उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।