काठमाडौं,२६ चैत । नेकपा एकीकृत समाजवादी परित्याग गनुभएको नेता चुडामणि जंगलीले माधव नेपालबाट पार्टी चल्न सक्दैन भन्ने तथ्य प्रमाणित भएपछि आफूले नेकपा एकीकृत समाजवादी त्यागेको बताउनु भएको छ ।
नेकपा एसको सचिवालय बैठकले उपाध्यक्ष केदार न्यौपाने र आफ्नो राजीनामा स्वीकृत गरेपछि मिडियामा अन्तर्वार्ता दिँदै जंगलीले माधव नेपालले पार्टी चलाउन नसक्ने र नेकपा एकीकृत समाजवादी चाँडै समाप्त हुने दृष्य देखेर परित्याग गरेको बताउनु भएको हो ।
‘माधव नेपाल भन्ने एउटा, गर्ने अर्कै गर्नुहुँदो रहेछ, उहाँले बिधि, पद्धती, बिधानको कुरा उठाएर एमालेबाट बिद्रोह गर्नुभयो । तर नयाँ पार्टी खोलेपछि पुरानै शैली अपनाउनु भयो, आफ्नो स्वार्थका लागि जे पनि गर्ने, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताकै बिरुद्धमा जान पछि नपर्ने गतिबिधि गर्नुभयो,’ जंगलीले भन्नुभयो ।
उहाँले माधव नेपालबाट पार्टी चल्छ भन्ने बिश्वास सकिएकोले परित्याग गरेको र कम्युनिष्ट आन्दोलन बलियो बनाउन लाग्ने बताउनु भयो । ‘माधव नेपालले पार्टीमा निर्णय नगराईकन राष्ट्रपतिमा रामचन्द्र पौडेलको समर्थक बस्नुभयो । पछि मात्रै मत हाल्ने निर्णय गराउनु भयो, एमालेले राष्ट्रपति अफर गर्दा कम्युनिष्ट आन्दोलनकै बिरुद्धमा लाग्नुभयो र कांग्रेसलाई सघाउनु भयो, यो स्तरको गद्धारी गरेपछि त्यो पार्टीमा कसरी बस्ने ?’ जंगलीले भन्नुभयो, ‘उहाँबाट यो पार्टी अगाडि बढछ भन्ने त मैले कल्पना नै गर्न सक्दिन । उहाँबाट पार्टी चल्दैन । यही भएर छाडें ।’
नेता जंगलीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन बलियो बनाउन गर्नुभएको प्रस्तावलाई माधवले गलत रुपमा बुझेको र दलाल नोकरशाहीको गोटी बनेको बताउनु भयो ।
‘केपी कमरेडले बिगतको तिक्तता बिसौं, तपाई राष्ट्रपति हुनोस, पार्टी एमालेमा समाहित गरौं, फेरि माओवादी केन्द्रलाई पनि जोडौंला भनेर प्रस्ताव गर्दा माधव नेपालले खेलवाड गर्नुभयो । र कांग्रेससँग गठबन्धन बनाउनु भयो । आफ्नो कुर्सीलाई, आफ्नो प्रतिष्ठालाई माथि राखेर सोच्नुभयो ,’ जंगलीको भनाई छ ।
उहाँले माधव नेपालले कम्युनिष्ट आन्दोलनमाथि गम्भीर घात गरेको आरोप पनि लगाउनु भयो । ‘बामपन्थी सरकारलाई भत्काएर माधव नेपालले दलाल, नोकरशाही शक्तिसँग गठबन्धन गर्नुभएको छ । यस्ले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउँछ,’ जंगलीले भन्नुभयो ।



















