काठमाडौं,२ बैशाख । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बस्नेतले मेयर बालेनलाई यस्तो सुझाव दिनुभएको हो ।
‘बालेनजी नयाँ जोस र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्विकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था छैन । मेरो बालेनजीप्रतिको टिप्पणी आलोचनालाई पनि तपाईँले स्थान दिनुस् भन्ने हो । कहिलेकाही उहाँले गरेका काममा आएका टिप्पणी र अनुभवी साथीहरुले दिएका सुझावहरुलाई आत्मसात गर्नुस भन्ने मेरो सुझाव हो,’ बस्नेतले भन्नुभयो ।
यस्तो छ बस्नेतको सुझाव
बालेनजीको कुराको विरोध गर्नुपर्ने कुनै जरुरत छैन, उहाँले त सिंहदरबारमा भएका अनियमितता र भ्रस्टाचार विरुद्धको विद्रोह गर्नुभएको हो। यो आवाज त देशभरीको स्थानीय तहको आवाज हो त्यसलाई हामीले साथ र समर्थन गर्नुपर्छ। बालेनप्रति मेरो आक्रोश छ भनेर मलाई नै आक्रमण गर्नुहुन्छ मिडियाका साथीहरु, तर बालेनको ढाडमा लागेको धुलो टकटक्याउने मात्र मेरो अभियान हो, उहाँको ढाड नै भाँच्ने मेरो अभियान कहिले पनि थिएन।
उहाँले राम्रो गरिरहनुभएको छ र राम्रो काममा हामी सबैको समर्थन सधै रहन्छ। आजको गृहमन्त्रीले, सहरी विकास मन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापनको निमित्त, विकास र समृद्धको निमित्त महानगरले गर्न खोजेको सहकार्य र कामलाई उहाँहरूले साथ दिनुपर्छ। बालेन जी लाई गालीमात्र गरेर आफू सबल हुन्छु भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो।




















