काठमाडौं,६ बैशाख  । बैशाख १० गते चितवन–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले महिला माथि कुनै पनि खालको आक्षेप नलगाउन रवि लामिछाने र उहाँका प्रचारकलाई आग्रह गर्नुभएको छ । 

सो पार्टीले आयोजना गरेको घरदैलो अभियान अन्तर्गतको कोण सभामा बोल्दै न्यौपानेले महिला माथि आक्षेप लगाउनेलाई चितवनवासीले नछाड्न चेतावनी दिनुभयो । ‘खबरदार हाम्रा नारीहरू पवित्र हुनुहुन्छ, हाम्रा नारी विरुद्ध अनर्गल प्रचार गरिन्छ, आरोप लगाइन्छ भने चितवनवासीले सहँदैनन्, हामी सबैलाई सम्मान गर्छौँ’, उहाँले भन्नुभयो । 

न्यौपानेले आफू नैतिक र आर्थिक रूपमा कहिल्यै पनि नगिरेको र नगिर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू चितवनवासीको छोरो भएर काम गर्ने उहाँले बताउनुभयो । ‘म यहाँहरूको नेता होइन, छोरो हो, भाइ हो, देवर हो, भतिजो हो, यस कारणले म तपाईँहरूको सेवक भएर रहन चाहन्छु’, उहाँले भन्नुभयो । 

चितवन–२ को निर्वाचन र विकासको अगुवाइ महिलाले गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । चितवनवासीले रविलाई दिएको मौकाको सदुपयोग गर्न नसकेकोले एमालेलाई नयाँ मौका मिलेको उहाँले प्रष्ट पार्नुभयो । चितवनका युवालाई पनि निराश नहुन उहाँले आग्रह गर्नुभयो । 

न्यौपानेले आफ्ना आमा–बाबु गुमाउँदा पनि कहिल्यै विचलित नभएको बताउनुभयो । चितवनवासी आमा–बुबा, दिदी–बहिनी, दाजु–भाउजूको प्रेरणाले आफूलाई विचलित हुन नदिएको उहाँले सुनाउनुभयो । 

नागरिकको समस्या समाधान र सहयोग गर्ने दायित्व राज्यको भएको बताउँदै न्यौपानेले त्यसको लागि संसदमा गर्जी रहने बताउनुभयो । नागरिकका समस्या निरन्तर उठाइरहने र समस्या समाधानको लागि सरकारलाई बाध्य बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।