इलाम,१४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिनुभएको छ । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन भनेर ट्वीट गरेको भन्दै छोरा बुहारीका नाममा चलखेल नगर्न ओलीले पूर्वराजालाई चेतावनी दिनुभएको हो ।
इलाममा ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे,’ इलाममा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेको पनि बताउनु भयो ।
‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले जवाफ दिनुपरे निकै महंगो सावित हुने बताउनु भयो । ‘हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर,’ अध्यक्ष ओलीको चेतावनी थियो ।
एमालेले कारबाही गरेका दुर्गा प्रसाईंतर्फ संकेत गर्दै अध्यक्ष ओलीले ट्याउट्याउ गर्दै कुद्ने एकदुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने बताउनु भयो ।




















