काठमाडाैं,२४ वैशाख। नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेकाे प्रकरणमा आफू संलग्न नभएकाे बताउनुभएकाे छ ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् खतिवडाले केही सञ्चार माध्यमले यस प्रकरणमा आफ्नाे पनि नाम जाेडेकाे भन्दै असन्तुष्टि जनाउनुभयाे ।

कहिँकतै आफ्नाे संलग्नता भएकाे पुष्टि भए राजनीति छाेड्ने घाेषणा समेत उहाँले गर्नुभयाे । 'मेरो नाम र पूर्व प्रधानमन्त्रीको नाम जाेडेर फलानाको पनि छानबिन हुनुपर्छ भनिएकाे समाचार देखेँ, यदि कहीँकतैबाट पुष्टि भएर, म संलग्न छु भने सजाय भोगेर राजनीति जीवनबाट बाहिर जान तयार छु'- खतिवडाले भन्नुभयाे ।

दाेषी भए सरकारले गरेकाे कारबाही भाेग्न तयार हुनुपर्ने भन्दै उहाँले यो प्रकरणमा मुछिएका नेता लुकाउनेलाई के काबारही हुन्छ भन्दै प्रश्न गर्नुभयाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकाेतर्फ लक्षित गर्दै खतिवडाले भन्नुभयाे - 'लहरो तान्दा पहरो थर्कन्छ भनेजस्तै आफ्ना मान्छे पर्न थालेकाे प्रधानमन्त्रीकोमा म्याउँ म्याउँ गर्दै जोगाउने कामको अन्त्य होस् ।'