काठमाडाैं,९ जेठ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताप्रति जिम्मेवार नभएकाे बताउनुभएकाे छ ।

मंगलबार ललितपुरमा आयाेजित पार्टीका जनसंगठनकाे पदाधिकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश आर्थिक मन्दीमा पुग्दा र जनता महंगीकाे मारमा पर्दा पनि सरकार गम्भीर नभएकाे बताउनुभयाे ।

सरकार कुनै पनि ढंगले जनता र राष्ट्रप्रति जिम्मेवार नदेखिएको भन्दै उहाँले देशमा आर्थिक लगायत विभिन्न समस्या देखिएपनि सरकार बेखबर जस्तै देखिएको बताउनुभयाे । देशकाे अर्थतन्त्रबारे सरकारले ३ थरी कुरा गरेकाे भन्दै अध्यक्ष ओलीले विदेशीसँग एउटा, सदनमा एउटा र अर्थमन्त्रीले एउटा कुरा गर्दै हिँडेकाे बताउनुभयाे ।

तथ्यांकहरु हेर्दा सरकार बजेकाे स्राेत जुटाउनै नसक्ने अवस्थामा पुगेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे -  'याे सरकारले बजेट कसरी ल्याउँछ ? बजेट बनाउन गाह्राे छ किनभने सरकार चलाउने खर्च सरकारसँग छैन, बजेट भनेकाे सरकार चलाउने, विकास गर्ने र समाज हेर्ने हाे, सरकारै चलाउने नसक्ने अवस्था छ, कर्मचारीले, प्रहरीले, सेनाले तनखा खानै नपाउने स्थितिमा के हुन्छ ? कसरी काम गर्छन् प्रहरी, कर्मचारीले भाेकै बसेर कसरी काम गर्छ ? अवस्था त्यस्ताे छ, यस अवस्थाप्रति सिंगै देश सचेत हुनुपर्नेछ ।'

सरकारले ल्याएकाे नीति तथा कार्यक्रम संशाेधन गरेर मात्र नहुने भन्दै अध्यक्ष ओलीले पुर्नलेखन गर्नैपर्ने बताउनुभयाे ।

संविधान र कानुनका ठूला कुरा गर्ने सरकारले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्‍मा सदस्य नियुक्त गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । न्यायपरिषद्‍मा ६५ वर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरिएकाे बताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे - 'उहाँहरु संविधान हेर्नुहुन्छ कि हेर्नुहुन्न ?' उहाँले यस विषयमा संविधान र कानुनका दफा देखाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले प्रश्न सोध्ने पनि बताउनुभयो ।

संविधानकाे दुहाइ दिने र संविधान मिच्नेहरुले नै संविधान रक्षाकाे कुरा गर्दै हिँडेका भन्दै अध्यक्ष ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेढ वर्षसम्म प्रतिपक्षीसँग संवाद नगरेको बताउनुभयाे । अहंकार र घमण्डले देश नचल्ने भन्दै उहाँले प्रतिपक्षीलाई बेवास्ता गरे सह्य नहुने बताउनुभयाे । अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे - 'देश कसरी चल्छ ? देश अंहकार र घमण्डले चल्ने हाे र ? केहीकेही कुरा भएपछि जे गरेपनि चल्छ भन्ने उहाँहरुलाई परेकाे छ तर त्यस्ताे हाेइन,उहाँहरु कुनै कुराप्रति जिम्मेवार र गहन ढंगले साेच्नुहुन्न ।'

सरकारलाई यसैगरी चलिरहन दिने हाे भने देश नचल्ने चेतावनी दिँदै उहाँले नेपाली जनताले याे कुरा बुझेर समयमै वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभयाे । देश नचल्ने अवस्थामा जाने भन्दै अध्यक्ष ओलीले यसकाे विकल्प स्पष्ट जनमत भएकाे बताउनुभयाे । परिस्थिति र अवस्थाप्रति स्पष्ट भएकाे जनमत आवश्यक रहेकाे बताउनुभयाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै उहाँले एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरितको काम गरे कारबाही गर्न अग्रसर हुने बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिद्धाउन खोजेपनि २ वर्षमा पार्टीलाई जाेगाएर अझ सशक्त ढंगले अगाडि बढाइएकाे बताउनुभयाे । पार्टी ध्वस्त पार्ने चल्न नदिने, पार्टी नीति नेतृत्वप्रति अनास्था जगाउने गतिविधि पार्टीभित्रै बसेर भइरहेका र तिनलाई पन्छ्याउँदै अगाडि बढिएकाे उहाँले बताउनुभयाे । एमालेलाई विभाजन गर्न खाेजिएकाे परिस्थितिले पार्टीलाई शुद्धिकरण गर्ने माैका दिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । मूलभूत रुपमा पार्टी शुद्धिकरण भएकाे र पार्टीलाई छाेटाे समयमै अझ सशक्त बनाइएकाे बताउनुभयाे ।

अध्यक्ष ओलीले संसदीय सिटमा केही खुम्चिएपनि एमाले देशकै लाेकप्रिय पार्टी बनेकाे अध्यक्ष ओलीले बताउनुभयाे । एकातिर पार्टीकाे रक्षा गर्नुपर्ने, विराेधीहरुबाट जाेगाउने अवस्थामा पनि पार्टीलाई अगाडि बढाइएकाे भन्दै उहाँले पार्टीलाई जाेगाएकाेमा नेता-कार्यकर्ता, जनता, जनवर्गीय संगठन सबैलाई धन्यवाद दिनुभयाे । याे असाधारण काम भएकाे अध्यक्ष ओलीकाे भनाइ छ ।

पदले नभइ काम र क्षमताले नेता भइने भन्दै उहाँले पदले नभइ काम, क्षमता र अनुभवले नेता बन्न नेता-कार्यकर्तालाई सुझाव दिनुभयाे ।क्षमतामा आफूलाई नेता सावित गर्नुपर्ने र विकास गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकास गर्ने कुरा कहिल्यैपनि नसकिने बताउनुभयाे । विगतमा पढेकाे कुरा जागिरका लागि मात्रै काम गर्ने भन्दै उहाँले समयअनुसार चल्नुपर्ने बताउनुभयाे ।