काठमाडौं,२३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग लत्रेर, झुकेर र अपमानपूर्वक ढंगले एकता हुन नसक्ने बताएका छन । आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन ।

उनले आफू एकताविरोधी नभएको र सम्मानजनक एकताका लागि आफू सधैं तयार रहेको स्पस्ट पारेका छन । अध्यक्ष ओलीले नै एकताको वातावरण बिगार्दै गएकाले अपमानजनक एकता नहुने उनको भनाई छ । नेता नेपालले अहिलेसम्म एकताका लागि भएका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउँदै केही विषयमा सहमति भएपनि केही विषय अझै मिल्न बाँकी रहेको बताएका थिए ।

बैठकमा नरम रुपमा प्रस्तुत भएका नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा संकटकमा रहेको चिन्ता ब्यक्त गरे । उनले एमाले केन्द्रदेखि वडातहसम्म विभाजित भएको अवस्थामा पुगेको बताएका थिए । ‘अहिले हामी इतिहासकै संकटपूर्ण अवस्थामा छौं, तर फेरि पनि नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजाने हाम्रो चाहाना हो । हाम्रो चाहाना विभाजन होइन, एकता नै हो । तर, एकताका लागि वातावरण बनिसकेको छैन’, बैठकमा नेता नेपालको भनाइ थियो ।

उनले एमाले एकताका लागि निर्णायक ढंगले प्रयत्नहरु गनुपर्ने भन्दै विघटित कार्यदलका नेताहरुलाई पनि एकता छिटो टुंगो लगाउन भनेको बताएका थिए ।

‘ नेता नेपालको आशय ओलीसँग झुकेर, लत्रेर र अपमानपूर्वक एकता गर्न नसकिने रहेको युवा नेता राम प्रसाद रिजालले बताए । ‘ओलीसँग झुकेर, लत्रेर र अपमानपुर्वक एकता गर्नुको अर्थ छैन भन्ने नै नेता नेपालको सम्बोधनकोे सार थियो र वास्तविकता पनि त्यही हो’, युवा नेता रिेजालको भनाइ छ ।

माधव समूहका नेता तथा एमाले कार्यदलका संयोजकसमेत रहेका भीम रावलले कार्यदलमा भएको छलफल र १० बुँदे सहमतिबारे बैठकमा विस्तृतमा जानकारी गराएका थिए । रावलले १० बुँदे सहमति नै एकताको आधारबिन्दु हुन सक्ने भन्दै त्यसैका आधारमा अघि बढ्न सकिने दाबीसमेत गरेका थिए ।

शुक्रबार सकिएको माधव समूहको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । यसका लागि केपी ओली पक्षले साउन २४ गते आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुपर्ने, सदस्यता नवीरकण अभियान रोक्नुपर्ने र वडा तथा गाउँ अधिवेशनका साथै विधान अधिवशेन पनि रोक्नुपर्ने माधव नेपाल पक्षले माग गरेको छ ।खबर ब्रेकिग बाट