झापा,३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिवर्तनका आन्दोलनहरु पूरा भए पनि राष्ट्रियताका लागि क्रान्ति जारी रहेको बताउनु भएको छ।
गृहजिल्ला झापा बसाईका क्रममा रहनुभएका पूर्व प्रधानमन्त्री ओलीले दमकमा शुक्रबार भएको मजदुरहरुको कार्यक्रमलाई संवोधन गर्दै नेपाली जनताको क्रान्ति पूरा नभई स्वरुप मात्र बदलिएको बताउनु भएको हो ।
नेपाली मजदुर, किसान र सर्वहाराको नेतृत्व गर्छु भन्नेहरु दक्षिणपन्थी र पूँजीवादीको शरणमा पुगिसकेकाले मजदुरहरुको अधिकार र सामाजिक सुरक्षाको आन्दोलन जारी राख्नु पर्ने बताउनु भएको हो । विश्वव्यापी रुपमानै क्रान्ति र आन्दोलनको नेतृत्व मजदुरहरुले गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालमा पनि नेकपा एमालेकै नेतृत्वमा मजदुर अधिकार प्राप्ति र सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा आएको बताउनुभयो ।
नेकपा एमालेको सरकार रहेका बेला मजदुर, किसान, भुमिहिनका लागि कानूनी रुपमानै अधिकारको प्रत्याभूती गरिएको स्मरण गराउँदै उहाँले अहिलेको सरकार दलाल, कमिशन र पदलोलुपतामा मात्रै सिमित रहेको पनि बताउनुभयो ।
तीन दिने गृहजिल्ला बसाईका लागि झापा आउनु भएका अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार सञ्चालन हुने गरी तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको छ ।



















