काठमाडौं,२३ बैशाख  । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण  खाणलाई जसरी पनि जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिनुभएको तथ्य खुलेको छ ।

बिहीवार आफ्नै निवासमा आएका खाणकै सामू देउवाले प्रचण्डलाई फोन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा तात्कालिन गृहसचिव बालकृष्ण पाण्डेले नै खाण संलग्न रहेको बताए पनि कुनै पुर्जी जारी नगराउन दवाव दिएको पाइएको हो ।

प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै आफू निकट नेताहरुलाई यस्तो जानकारी दिनुभएपछि खाण जोगाउने खेलको पर्दाफास भएको हो । देउवाकै फोनपछि खाणसहित केही हाइ प्रोफाइल ब्यक्तिको बिरुद्ध अदालतबाट पक्राउ पुर्जी लिने प्रक्रियालाई प्रहरीले अन्तिम चरणमा रोकेको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।

पक्राउ परेका गिरोहका सदस्यले दिएको बयानको रेकर्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेपछि सत्तारुढ दलका नेता जोगाउने योजना बिफल भएको पनि स्रोतले बताएको छ ।

केही मन्त्री र किचन क्याबिनेटका सदस्यसँग प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्स डटकमसँग भन्यो, ‘ केपी ओलीकहाँ अडियो नै पुगेको छ, चैत १३ गते लिइएको बयान हेरफेर किन गरियो भन्दै भन्नुभयो, यता देउवा खाणलगायतका मान्छेलाई छुनै हुन्न भन्दै धम्क्याउन थालेका छन ।’

‘टेकनारायण पाण्डेले नाम किटेर खाण र उहाँकी पत्नी मञ्जुको नाम लिनुभएको छ, उहाँले सवै काम उहाँहरुको सल्लाहमै भएको हो भनेपछि पक्राउ नगर्न दवाव दिइएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । उनका अनुसार सत्तारुढ दलकै दवावका कारण प्रहरीको अनुसन्धान पनि केही दिनयता ढिलाई भइरहेको छ ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएसँगै खाणको नाममा पक्राउ पुर्जी लिने तयारीमा रहेको प्रहरी एकाएक पछि हटनुको कारण पनि यही रहेको उनले बताए ।

छानविन अघि बढदा आफ्नै पत्नी डा. आरजु देउवाको समेत संलग्नता देखिने प्रष्ट रहेको छ । आरजुले नै टेकनारायणलाई गृहसचिव बनाउन खाणलाई भन्नुभएको थियो । खाण गृहमन्त्री रहँदा हरेक निर्णय पत्नी मञ्जु र देउवा पत्नी आरजुबीचको डिलपछि मात्रै हुने गरेको थियो ।

खाण मुछिएपछि आफ्नै घरसम्म नक्कली भुटानी प्रकरण आउने त्रासमा देउवाले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई छुट्टाछुट्टै दवाव दिनुभएको स्रोतले बतायो । जनताटाइम्स बाट